धनुषा ८ बैशाख ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभरका शैक्षिक संस्थाहरू वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मंगलबार सूचना जारी गरेर कोरोना संक्रमणको बढ्दो लहरलाई मध्यनजर गरी जिल्लाभरका शैक्षिक संस्थाहरू वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएका हुन्। जिल्लाका सबै स्थानीय तहका मेयररप्रमुखहरूको सुझावअनुसार जिल्लाभरका विद्यालय, क्याम्पसलगायतका शिक्षण संस्थाहरू वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बास्तोलाले बताए। जनकपुरको विद्यालयमात्र बन्द गरेर जोखिमबाट जोगिन नसकिने सबै स्थानीय तहका मेयर र प्रमुखहरूको तर्फबाट सुझाव आयो,’ आयोमेलसँग प्रमुख जिल्ला अधिकारी वास्तोलाले भने,‘उहाँहरूको सुझावअनुसार सबै स्थानीय तहका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।’ शैक्षिक संस्थाहरूमा भौतिक रूपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाइ शैक्षिक गतिविधि सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। यसैगरी सुरू भइसकेको परीक्षालाई मात्र स्वास्थ्य मापदण्डको पालना गरी वैशाख १० गतेभित्र सम्पन्न गर्न निर्देशन दिइएको वास्तोलाले बताए। उपहानगरपालिकाले ३०, नगरपालिकाले २० र गाउँपालिकाले कम्तिमा १५ आइसोलेसन बेड तत्काल तयार गर्नुपर्ने तथा आवश्यकताका आधारमा क्वारेन्टाइन सेन्टर निर्माण गर्न बैठकले निर्णय गरेको छ।
यसैगरी सीमा नाकासँग जोडिएका स्थानीय तहहरूले अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गरी होल्डिङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here