सप्तरी ९ चैत।
सप्तरीमा हात छाडेर तिब्र गतीमा मोटरसाइकल कुदाउदा दुर्घटना भएर एक किशोरको ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरर्साइकल चालक सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ४ का १५ वर्षीय विवेककुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
राजविराजबाट हनुमानर नगरतर्फ तिव्रगतिमा जाँदै गरेको अन टेस्ट मोटरसाईकल राजविराज नगरपालिका –१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मण्डल र पछाडि सवार हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका १५ वर्षीय कौशल मण्डल घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएकोमा विवेकको मृत्यु भएको र कौशल घाइते रहेको प्रहरीले जनाएको छ । टाउको र छातिमा चोट लागेर घाइते भएका कौशलको अवस्था समेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








