काठमाण्डौं, २ चैत्र ।
अर्थ मन्त्रालयले सोमबार गरेको छलफलमा मुख्य सचिव शंकरदास बैरागीले बजेट कार्यान्वयन हुन नसक्ने आधारहरु बारे गहन ढंगले छलफल गरेर मात्र अगाडी बढ्न सक्ने बताउनुभयो । राष्ट्रिय प्राथमिकतालाई मन्त्रालयहरुले ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । आगामी वर्षको बजेटमा बजेट खर्च गर्ने अधिकारीको काम कार्यान्वयनको मुल्यांकन हुनेगरी व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठोस काम र परिणाम आउने कामलाई प्राथमिकता दिनेगरी बजेट निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले अर्थ मन्त्रालयले छुट्याएको बजेटआधारले चालु बहुवर्षे ठेक्काबाहेक अन्य कार्यक्रम आयोजनालाई विनियोजन गर्न नपुग्ने अवस्था आएको गुनासो गर्नुभयो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले हरेक वर्ष कृषि क्षेत्रको बजेट घटाएर उपलब्धी हासिल गर्न नसकिने बताउनुभयो । उहाँले कृषि मन्त्रालयको प्राथमिकताको काम समेत गर्न नसकिने दाबी गर्नुभयो ।
रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले प्रतिरक्षा विश्वविद्यालयलाई प्राथमिकताको साथ अगाडी बढाउने गरी श्रोत सुनिश्चित गरिदिन माग गर्नुभयो ।
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नयाँ आयोजनामा नापीको आधारभुत कार्यलाई अनिवार्य समावेश गरेर योजना बनाउनुपर्ने बताउनुभयो । मालपोत कार्यालय र नापी कार्यालय सञ्चालनको खर्च समेत नपुग्ने अवस्थामा रहेकाले परिणाम पनि नखोज्न अर्थ मन्त्रालयलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बजेट निर्माण र कार्यक्रम तथा आयोजना तर्जुमा गर्ने प्रक्रियालाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । अहिले संघ, प्रदेश र स्थानीय सरकारले अलग अलग बजेट बनाउने तर एक अर्काको परिपुरक हुन नसकेका कारणले बजेट निर्माण प्रक्रियाको नै पुनरावलोकन गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले अर्थ मन्त्रालयले दिएको बजेट आधारलाई पुनः मुल्यांकन गर्न आग्रह गर्नुभयो । बजेट आधार बाँडफाँड गर्दा हचुवाको भरमा गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल सरकारका सबै मन्त्रालयको कामको समन्वय तथा कार्यक्रम हेर्ने गरी बजेट छुट्याउन आवश्यक रहेको बताउनुभयो ।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले अदालत र सरकारी कार्यालयको भौतिक पूर्वाधार निर्माणमा भेदभाव गरेको आरोप लगाउनुभयो । उहाँले अर्थ मन्त्रालयले अदालतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा मन्त्रालयको कार्यक्रममा सरकारले कुपोषण नै लगाएको भनि ब्यङ्ग्य गर्नुभयो । उहाँले प्राप्त बजेट आधारले मन्त्रालयका चालु रहेका सबै कार्यक्रम चलाउन नसकिने बताउनुभयो ।
संघीय संसद सचिवालयका सचिव ध्रुव प्रसाद घिमिरेले संघीय संसद दुई सदनात्मक भएको अवस्थामा पनि एक सदन मात्र भएको जसरी बजेट आधार तोकिदा कार्य सञ्चालन गर्न नै कठिन हुने अवस्था आउने भएकाले बजेट आधार बढाउन आग्रह गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रतर्फ जाने कुरालाई मन्त्रालयले बनाउने योजना कार्यक्रममा स्पष्ट हुनुपर्ने बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव रामशरण बजगाईले बदलिँदो परिवेशसँग दाँजेर मन्त्रालयको बजेट प्राथमिकतालाई निर्धारण गर्नुपर्ने बताउनुभयो । अर्थ मन्त्रालयका अर्का सचिव शिशिर कुमार ढुंगानाले कोरोना पछिको अर्थतन्त्रको पुनरागमन भनेको एकिकृत रुपमा सबै पुनरागमन भनिएको कुरा नर्बिसन सचिवहरुलाई आग्रह गर्नुभयो । बजेट निर्माण र योजना तर्जुमा गर्दा नीजि क्षेत्रलाई बिर्सेर योजना नबनाउन पनि उहाँले सचेत गराउनुभयो । उहाँले नीजि क्षेत्रको लगानीको परिपुरक हुनेगरी योजना बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here