रौतहट २९ फागुण।
रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ । रौतहट जिल्लाको मौलापुर नगरपालिका ७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो ।

अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । रौतहटका ग्रामीण भेगमा किसानहरुले लुकिछिपी अफिम खेती गर्दै आएका छन् ।

मंसिर अन्तिमतिर रोपिएको अफिमको बिरुवा माघ फागुनसम्म दाना लागेर तयार हुन्छ । दानालाई बिरुवामा भएकै बेला ब्लेडले चिरेर तरल पदार्थ चोप निकालेपछि प्रशोधन गरी लागूऔषध अफिम तयार हुने गर्दछ । बजार मूल्य अत्याधिक भएको हुनाले पनि यो खेतीतिर ग्रामीण भेगका केही किसान बढी आकर्षित भएका हुन् ।

कानुनले बन्देज गरेको अवैध लागूऔषध अफिमको खेतीको बारेमा जानकारी आएपछि प्रहरीले बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here