फाल्गुन २० वीरगञ्ज ।

वीरगञ्जको सिमावर्ती भारतीय शहर रक्सौलमा पेट्रोलियम पदार्थको चोरी बढेको छ ।
भारतको विभिन्न स्थानमा मालबस्तु बोकेर आउने ठूला सवारीसाधनबाट रक्सौलमा दैनिक हजारौं लिटर डिजल चोरी भइरहेको ट्रक चालकहरुले बताएका छन् । डिजल चोरीको विरोधमा प्रदर्शन गर्दै चालकहरुले यस्तो बताएका हुन् ।

रक्सौलको बाइपास सडक र आइसिपी वरपरको क्षेत्रमा पेट्रोलियम पदार्थको चोरी बढेको हो । लामो दूरी तय गरी नेपाल आउन लागेका मालवाहक भारतीय ट्रकहरूबाट चोरहरुले दैनिक हजारौं लिटर डिजेल चोरी गर्दा चालकहरु मार्कामा परेपछि विरोध गर्न बाध्य भएका हुन् ।

चालकहरुल भारतका विभिन्न क्षेत्रबाट लामो दूरी तय गरेर आउँदा कहींकतै ट्रकबाट डिजेलको चोरी नहुने तर रक्सौलमा आएपछि डिजेलको चोरी बढेको भन्दै प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले चोरीमा संलग्नहरूलाई पक्राउ गरी कारबाईको माग पनि गरेका छन्

एकजना ट्रकचालकले सडकखण्डमा लामबद्ध ट्रकहरूबाट दैनिक हजारौं लिटर डिजेल चोरी भइरहेको बताए । उनीहरूले आफ्नो गाडीबाट पनि अढाइसय लिटर डिजल चोरी भएको बताए ।

प्रदर्शनकारी चालकमध्ये जयकान्तले एकाबिहानैदेखि चोरी हुने गरेको बताए । चालकहरू सडकखण्डमा ट्रक राखेर बिहान नित्यक्रम गर्न गएको बेला चोरहरूले मौका छोपेर सो कार्य गरेको बताए । उनले ट्रक लामबद्ध रहने स्थानमा सुरक्षा व्यवस्था फितलो भएकोले चोरहरूले चोरी गर्न सकेको भन्दै सो स्थानमा सुरक्षा व्यवस्था कडा गर्न माग पनि गरे ।

चालक जयकान्तले डिजेल चोरीविरूद्ध आवाज उठाउँदा चोरहरूबाट कतिपय चालकहरू कुटपीटको शिकार भएको र त्यसमा प्रशासन मौन देखिएको भन्दै प्रदर्शनमा उत्रिनुपरेको बताए ।

ट्रकचालक मनोहर पासवानले ट्रक सञ्चालकहरूले किलोमिटरको हिसाबले डिजेल उपलब्ध गराउने र चोरी हुँदा आफ्नो तलबभत्ताबाट कट्टा गर्ने हुँदा चालकहरू मर्कामा परेको बताए । उनले आफ्नो ट्रकबाट २ सय लिटर डिजेल चोरी भएको र थप डिजेल खरीद गर्ने पैसा नहुँदा समस्यामा परेको बताए । यस्तो समस्यामा पर्नेहरू थुप्रै चालकहरू भएको उनको बुझाइ छ ।

ट्रकचालकहरूले बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा सडक अवरूद्ध गरेका थिए । प्रदर्शनको क्रममा पनि प्रहरीहरू परिचालित भएनन् । अनुमण्डल प्रहरी अधिकारी आइपिएस सागर कुमारले डिजेल चोरीबारेमा आफूलाई भर्खरै थाहा भएको बताए ।

उनले अबका दिनमा चोरीका घटना हुन नदिन सम्बन्धित थाना अधिकारीहरूलाई निर्देशन गरेको र यसविरूद्ध प्रहरीले कडा कदम चाल्ने आश्वासन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here