रौतहट २७ माघ ।
जिल्ला निर्वाचन कार्यालय रौतहट निर्वाचनको तयारीमा तीव्रता दिएको छ । नेपाल सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन कार्यालयले गतिविधि अघि बढाएको हो ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार निर्वाचनको तयारीका लागि १८ वटा स्थानीय तहको १५७ वडा कार्यालयमा अध्यावधिको कागज पठाइसकेको छ ।

वडाबाट मृत्यु भएका तथा मतदाताबाट नाम हटाउनुपर्ने उजुरीअनुसार अध्यावधिको भइरहेको निर्वाचन अधिकारी दासले बताउनुभयो ।

निर्वाचन आयोगले पछिल्लो पटक पठाएको मतदाताको तथ्यांकअनुसार आगामी निर्वाचनमा रौतहटमा करिब ३० वटा मतदान केन्द्र थपिने समेत दासले जानकारी दिनुभयो ।

२०७४ सालको निर्वाचनमा ४ सय ४९ मतदान केन्द्र थियो। अहिले करिब ४ सय ८१ केन्द्र हुने भएको छ ।रौतहटमा २०७४ सालको निर्वाचनमा ३ लाख २९ हजार ८६१ मतदाता रहेका थिए ।पछिल्लो मतदाता संख्या ३ लाख ६० हजार ६४० रहेको दासले जानकारी दिनुभयो ।

मतदाताको अन्तिम परिणामको संख्या फागुन २० गतेभित्र नै आउने समेत निर्वाचन अधिकारी छोटेलाल दासले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here