जनकपुरधाम २० माघ ।
अख्तियारले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले सोमबार दिउसो उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।उपमहानगरपालिका विरुद्ध उजुरी परेपछि अख्तियार कार्यालय बर्दिबासका उप सचिव मनिराम ज्ञवालीको नेतृत्वको टोलीले कार्यालयको लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा अनुगमन तथा निरीक्षण गरेको थियो ।
उप सचिव ज्ञवालीले उपमहानगर द्वारा सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन निरन्तर जारी रहने बताए । टोलीले अहिले सम्म ४ उजुरीमाथि छानबिन गरिसकेको र बाँकी उजुरी माथि छानबिन लाई जारी राखिने बताएका छन् । गलत देखिएमा दोषीलाई कारबाहीको दायरामा ल्याउने अख्तियारले जनाएको छ ।
श्रोतका अनुसार अख्तियारले उजुरी परेका मध्येका केही सम्पन्न योजनाका फाइल समेत नियन्त्रणमा लिएको छ । ती फाइलको अध्ययन तथा छानबिन कार्यालयमै बसेर गरिने छ भने फरक देखिएमा सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाई अख्तियारले सोधपुछ गर्नेछ ।
ज्ञवाली नेतृत्वको टोलीमा इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाल लगायत छन्
उप महानगरकी उपमेयर रीता मिश्रले विभिन्न योजना विरुद्ध परेको उजुरी छानबिन गर्न अख्तियारको टोली कार्यालयमा आएको बताएकि छिन् ।








