चितवन १७ माघ ।
भरतपुर महानगरपालिकाको गौरवको आयोजना रहेको सिटीहलको निर्माण कार्यले तीब्रता पाएको छ । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि दुइ हजार सिट क्षमता भएको सिटीहलको लागी ठेक्का सम्झौता भएसँगै कामले गति लिइएको प्रदेशसभा सदस्य बिजय सुवेदीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका १० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा मंसिर १८ गतेबाट सिटीहल निर्माण हुँदै छ । गौरवका आयोजनाहरुलाई समयमा नै सकेर विकास निर्माणको कार्यलाई महानगरपालिकाले थप तीब्रता दिइरहेको भरतपुर महानगरका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भइरहेको हलको इण्डो सगुन रौताहा जेभीले निर्माणको ठेक्का पाएको छ । सिटीहल निर्माणस्थल अवलोकनका क्रममा निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीका प्रमुख सहदेव खड्काले हलको मुख्य भवन निर्माणको काम तीव्र रुपमा अघि बढाइएको बताउनुभयो ।
जगमा सोलिङ गरेर पिसीसीको अगाडि बढेको भन्दै आर्थिक तथा स्थानीय रुपमा कुनै समस्या नपरेमा सम्झौता मिती अगाडी नै निर्माण सम्पन्न गर्ने खड्काले बताउनुभयो । सिटीहल निर्माणमा प्रयाग हुने सामग्री गुणस्तरीय राख्नका लागि निर्माणस्थलमा नै रेडिमिक्स प्लान्ट राखेर काम गरिने उहाँको भनाइ छ ।
झन्डै ८७ करोड ८८ लाख निर्माण ठेक्का सम्झौतामा काम अघि बढाइएको महानगरको गौरवको आयोजना सिटीहल सम्झौता भएको २७ महिना भित्र निर्माण सम्पन्न हुने गरी कामले समेत तीब्रता पाइरहेको छ ।
सिटीहल भरतपुर महानगरको प्रतिष्ठा भएकोले पनि यसको निर्माणको लागि हरेक पक्षको संयोजन महानगरले गर्ने महानगरले जनाएको छ । बहुबर्षीय आयोजना अन्तर्गत बजेटको प्रवन्ध गरिसकेको र निर्माण प्रक्रियामा कुनै समस्या हुन नदिने महानगर ले जनाएको छ । सिटीहलको अहिले सोलिंग गरेर पिपिसी भइरहेको छ । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हल सहित अति विशिष्ठ कक्षहरु निर्माण हुने छ । निर्माणाधीन सिटीहल २५ मिटर अग्लो हुने र यो अन्तर्राष्ट्रिय गुणस्तरको निर्माण सामग्री प्रयोग गरेर सञ्चालनमा ल्याइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here