जनकपुरधाम१४ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्ने कार्यक्रम छ।
खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेकाले आजबाट खोप लगाउन सुरु गरिने बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ।
यो पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने छ।
पहिले चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइन लागेको छ।
काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ। स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहेका छन्।
काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गंगालाल अस्पताललगायत छन्।
भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा केन्द्र तोकिएको छ। खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने बताएका छन् ।
यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । यो खोप बायाँ पाखुरामा लगाइन्छ । कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरु बताएका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here