सर्लाही ३ माघ ।
चिनी मिलबाट पीडित भएपछि उखु किसानहरु विकल्पका रुपमा क्रसरलाई रोज्न थालेका छन् । चिनी मिलले तीन(चार वर्षसम्म उखुको भुक्तानी रोकेर सास्ती दिन थालेपछि किसानले क्रसरमा उखु बेच्न थालेका हुन् ।
सर्लाही जिल्लामा दर्जनौं क्रसर छन्, जहाँ उखु पेलेर सखर मिठा बनाइन्छ । उखु खेती हुने क्षेत्रमा खुलेका यस्ता क्रसरले किसानबाट नगदै उखु किनेर सखर बनाउने गरेका छन् ।मानपुर एक क्रसरमा काम गर्दै आएका दिलिप साहका अनुसार एक क्वीन्टल उखु पेल्दा २० किलो सखर तयार हुन्छ । किसानसँग ५०० रुपैयाँ प्रति क्वीन्टलमा उखु खरिद गर्दै आएको उनले बताए । बजारमा प्रतिकिलो ६० रुपैयाँमा सखर विक्री हुँदै आएको छ । क्रसरले धेरै उखु किन्न सक्दैन तर थोरै उखु लगाउने किसानका लागि भने यो फाइदाजनकरहेको छ ।
क्रसरबाट उत्पादित सखर स्थानीय बजारमै खपत हुने गरेको छ । अलग अलग गुणस्तरका सखर उत्पादन गरी तिनलाई विभिन्न प्रयोजनमा उपभोग गरिन्छ । एक नम्बर सखरलाई चिनीकै विकल्पमा चिया, सेल रोटी लगायत मिठाइमा समेत प्रयोग गर्न सकिने क्रसर उद्योगका कर्मचारी दिलिप बताउछन् ।
पछिल्लो समय तराई मधेसमा उखु खेतीसमेत घट्न थालेको छ । चिनी मिलले उखुको भुक्तानीमा आलटाल गर्न थालेपछि किसानले उखु खेती घटाएका छन्। पाँच वर्षअघि झण्डै पाँच बिघा जमिनमा उखु खेती गर्ने धनकौलका रामनरेन्द्र राय यादवले हाल करिब अढाइ बिघामा मात्र उखु लगाउने गरेका छन् ।
उखु खेती घटाएका किसानलाई स्थानीय स्तरमा खुलेका क्रसिङहरु राम्रो विकल्प बन्न थालेका हुन् । त्यस्ता क्रसिङमा उखु लैजान ढुवानी खर्च कम लाग्ने, नगद भुक्तानी पाइने भएकाले पनि किसानहरु थोरै खेती गर्न थालेका हुन् ।
धनकौलका अधिकांश उखु किसानले चार वर्षदेखि अन्नपूर्ण सुगर मिलबाट उखुको भुक्तानी पाएका छैनन् । सोही गाउँपालिका–७ का किसान नारायण राय यादवको केही साताअघि आन्दोलनकै क्रममा हृदयाघातका कारण मृत्यु भएको छ । उखुको भुक्तानीका लागि काठमाडौंमा भएको दबाबमुलक आन्दोलनमा सहभागी भएकै अवस्थामा उनको मृत्यु भएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here