वीरगञ्ज,२७ पौष ।

बहदुरबामाई नगरपालिका वडा नम्बर ८ स्थ्ति रामनगरीमा आगलागीमा परेर मृत्यु भएको भनिएको युवतीलाई बुवाको सहमतीमा आमाले आगो लगाएर नै हत्या गरेको खुलेको हो ।

प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन गएको कात्तिक २९ गते राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको भनिएको थियो ।

संचारमाध्यममा समेत आगलागीबाटै उनको मृत्यु भएको सूचना सम्प्रेषण गरिएको थियो । तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको छ ।

सुरुमा प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि भित्र माना कुमारीको शव भेटियो । उनी निदाएकै अवस्थामा जलेर मरेको परिवारजनले दावी गरे ।

तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले शवको प्रकृति हेरेपछि शंका गरेका थिए । त्यसपछि अनुसन्धान सुरु गरेका प्रहरीले घटनामा नयाँ मोड र तथ्य केलाउँदै जाँदा हत्या भएको पुष्टि भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले बताए ।

‘पहिला भित्र मानिस छ भनेर कसैले भनेन, आगो निभाउन मात्रै केन्द्रित भयौं । पछि भित्र शव भेटियो भन्ने खबर आयो,’ उनले भने, ‘घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको देखियो, खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिन्थ्यो । घटना शंकास्पद लागेपछि अनुसन्धान सुरु गर्‍यौं ।’

छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् । छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुल्यो ।

मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् ।
लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् ।

लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here