दाङ २५ पौष ।
घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १०० जना मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क उपचार गर्ने भएको छ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र घोराही उपमहानगरपालिकाबीच मोतियाविन्दुको बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सम्झौता भएको छ। अस्पतालका प्रशासक किरण पौडेल, उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र जन स्वास्थ्य अधिकृत नारायणप्रसाद घर्तीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
अस्पतालका बाह्य कार्यक्रम संयोजक नेत्र अधिकृत शालिकराम गौतमका अनुसार शल्यक्रियामा लाग्ने प्रतिव्यक्ति खर्च करिब आठ हजार रुपैयाँ उपमहानगरपालिकाले व्यहोर्ने र बाँकी रकम अस्पतालले व्यहोर्ने सहमति भएको छ। एसआइसिएस प्रविधिबाट मोतियाविन्दुको शल्यक्रियाका लागि आठ हजार रुपैयाँ उपमहानगरपालिकाले अस्पतालाई उपलब्ध गराउने छ। साथै, कम्प्युटर अर्थात् फेको प्रविधिबाट शल्यक्रिया गर्नुपर्ने भएमा बिरामीले थप पाँच हजार रुपैयाँ तिर्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको अस्पतालका सूचना अधिकृत बालाराम खड्काले जानकारी दिए।
आर्थिक अभावका कारण मोतिविन्दुको शल्यक्रिया गर्नबाट बञ्चित बिरामीहरुको सम्बन्धित निकायको सिफारिसमा शल्यक्रिया राप्ती आँखा अस्पतालमा हुने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जन स्वास्थ्य अधिकृत नारायणप्रसाद घर्तीले जानकारी दिए।







