hand praying in jail


सप्तरी २ पौष ।
अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरका १९ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसला समेत गरेको हो ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले आरोपितलाई जबर्जस्ती करणी गरेकोआरोपमा आठ वर्ष कैद, अपहरण तथा शरीर बन्धकतर्फ चार वर्ष आठ महिना कैद र ४६ हजार ६ सय ४६ जरिवाना तथा थप सजायतर्फ ६ वर्ष आठ महिना कैद र ६६ हजार ६ सय ६६ जरिवाना तोकेको अदालतले जनाएको छ । आरोपितले पीडितलाई एकुमष्ठ ५० हजार क्षतिपूर्तिसमेत भर्नुपर्ने फैसला भएको छ ।

कैदतर्फ सबैभन्दा बढी जबर्जस्ती करणीमा आठ वर्ष कैद सजाय भुक्तान गरेपछि अपहरण तथा शरीर बन्धकतर्फको सानो कैद भोग्नु नपर्ने तर थप सजाय भने भोग्नुपर्ने जिल्ला अदालतले जनाएको छ । आरोपितसमेत बालबालिका भएकाले दुई तिहाइ कैद सजाय हुने तर जरिवाना र क्षतिपूर्ति भने तिर्नुपर्ने ठहर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाउनुभयो ।

आरोपितले ०७५ मंसिर २५ गते गाउँघरबाटै बालिकालाई अपहरण गरी सुनसरीको इटहरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७५ पुष ३ गते उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपितलाई ०७५ पुष ४ गते पक्राउ गरेको थियो । संभार जनता खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here