भरतपुर, १ पौष ।

नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले शुभारम्भ गर्नुभएको छ । विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागी अस्पतालले उपचार सेवा प्रदान गर्ने छ । बर्दिया राष्ट्रिय निकुञ्ज लगायत देशका अन्य भागमा घाइते तथा रोगी भएका वन्य जन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको थियो । वि।स। २०७१ सालमा अस्पताल निर्माण शुरुवात गरिएको भएपनि अस्पतालमा आवश्यक उपकरण तथा औषधि अभावमा सञ्चालनमा आउन सकेको थिएन । अस्पताल निर्माणमा करिब रु तीन करोड ९० लाख ८४ हजार खर्च भएको कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिए । अस्पताल निर्माण गर्न सरकार, डब्लुडब्लुएफ नेपाल, डेनभर जुको पनि सहयोग प्राप्त भएको थियो । सुविधा सम्पन्न दुई तले भवनबाट वन्यजन्तुको ओपिडी, ल्याब, शल्यक्रिया कक्ष, अफिस, डिस्पेनसरी, कर्मचारी अवास र बैठक कक्ष रहेका छन् । यसअघि वन्यजन्तुलाई उपचार गर्न बहोस बनाउन डाट गर्ने गरिदैँ आएपनि अब अत्याधुनिक प्रविधि बाट ग्यास प्रयोग गरी वन्यजन्तुलाई असर नपर्ने गरी उपचार गर्न सकिने चिकित्सकले जनाएका छन् । अस्पताल सञ्चालनका लागी चितवन राष्ट्रिय निकुञ्ज र कोषले संयुक्तरुपमा ‘वन्यजन्तु अस्पताल व्यवस्थापन कार्यविधि २०७७’ तयार गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । अस्पताल सञ्चालनका लागि निकुञ्जको कार्यालयको भेटेरीनरी शाखाका कर्मचार, वन्यजन्तु प्राविधिक र पशुचिकित्सको व्यवस्था गरिएको छ । उक्त अस्पताल निर्माण र सञ्चालनका लागी विगत छ वर्षदेखि तयारी सुरु भएको थियो । अहिलेसम्म वन्यजन्तुलाई चोटपटक लाग्दा, बिरामी हुँदा उपचार गर्न सहज थिएन । पशुचिकित्सकहरू रहे तापनि उनीहरुलाई उपचारको काम गर्न असहज हुने गरेको थियो । अस्पतालमा चारजना चिकित्सक र सातजना प्राविधिक बस्ने कोठा, ओपिडी, एक्स–रे कक्ष, प्रयोगशाला, अप्रेसन कक्ष, डिस्पेनसरी, पोर्टएवल एक्स रे, अल्ट्रा साउण्ड मेसिन, रगतको परीक्षण गर्ने स्वचालित मेसिन, रगतको जीव, रसायन परीक्षण गर्ने मेसिन, माइक्रोस्कोपसहितको ल्याब उपकारण, ग्यासबाट लठ्याउने सुविधा सहितको अप्रेशन कक्ष रहेको छ । अस्पतालले हात्ती, बाघ, गैंडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि ‘होल बडी’ परीक्षण गर्ने छ । बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुञ्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने निकुञ्जले जनाएको छ । अस्पतालको २०७१ सालको फागुन २० गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन वनमन्त्री महेश आचार्यले शिलान्याश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here