सप्तरी २९, मंसिर ।
सप्तरीमा पोखरीको माछा मार्ने विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। सप्तरीको बोदे बरसाईन नगरपालिका–३ कुश्महारमा पोखरीको माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मृत्यु भएको हो ।
बोदे बर्साइन नगरपालिकाबाट ठेक्का लागेको छपकी पोखरीमा माछा मारेको विषयमा आइतबार राति भएको विवादले झडपको रुप लिंदा रामप्रित मण्डलकी श्रीमती ३५ वर्षीया गंगीयादेवीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर बिरेन्द्र पासवानका अनुसार झडपमा संलग्न आरोपितहरु सोही ठाउँका २८ वर्षीय रवितकुमार मण्डल, २२ वर्षीय सुरेन्द्रकुमार मण्डल, ४७ वर्षीय विजय मण्डल र ५० वर्षीय शिवशरण मण्डललाई पक्राउ गरिएको छ ।
आरोपितहरुको समूहले लाठी, कोदालो र बञ्चरोले प्रहार गरेको पीडित मृतक परिवारको आरोप छ ।शव पोस्टमार्टमका लागि सिरहाको लहानस्थित रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टम पश्चात घटनाको थप अनुसन्धान गरी कारवाही अगाडि बढाइने प्रहरी निरीक्षक पासवानले जानकारी दिनुभयो।
घटनामा मृतक पक्षका चारजना घाइते भएका छन् ।
मृत्यु हुने पक्षका ५५ वर्षीय जयनारायण मण्डल, १८ वर्षीय धिरज मण्डल र ३५ वर्षीय सोबिन्द्र मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ भने ४५ जोगिन्द्र मण्डल समेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।नगरपालिका अध्यक्ष आतेशकुमार सिंह यादवका अनुसार नगरपालिकाले ठेक्का लगाएको सार्वजनिक पोखरीमा माछा मारेको विषयमा भएको विवाद बहाना मात्र भएको बताउनुभयो उनीहरुबीच घर जग्गा, विद्यालय व्यवस्थापन समिति निर्माणलगायतको विषयमा सुरुदेखि नै राजनीतिक विवाद रहेको बताउँदै नगर प्रमुख यादवले राती पोखरीमा माछा मारेको विषय विवादका लागि बहाना बनेको बताउनुभयो।
प्रहरीका अनुसार गम्भीर चोट लागेका तीनजनालाई उपचारको लागि कामना नर्सिङ होम लहानमा भर्ना गरिएको छ भने जोगिन्द्रको बोदे बरसाईनस्थित क्लिनिकमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here