काठमाडौं २९ मंसिर ।
उखु किसानले आज दोस्रो दिन पनि धर्ना र प्रदर्शन गर्ने भएका छन् ।किसानहरुले हिजोदेखि उखु बेचेको रकम उठाइदिन सरकारसँग माग गर्दै काठमाण्डौमा आन्दोलन थालेका हुन् ।

आज पनि धर्ना र प्रदर्शनको कार्यक्रम निरन्तर रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो ।आफ्ना माग पूरा नभएसम्म आन्दोलन गरिरहने आन्दोलनरत उखु किसानले बताएका छन् । गएको वर्ष सरकारले छिट्टै भुक्तानी दिलाउने भनेर आश्वासन मात्र दिएकाले यो वर्ष पुरै रकम नपाएसम्म आन्दोलन गरिरहने उनीहरुको अडान छ ।

गएको वर्ष जस्तो यो वर्ष सरकारले झुक्याउन नसक्ने सर्लाहीका उखु किसान राजेश यादवले बताउनुभयो । सर्लाहीका किसानले सर्लाहीका दुईवटा चिनी उद्योगसँग ३६ करोड रुपैयाँभन्दा धेरै लिन बाँकी भएको यादवको दाबी छ । तर चिनी उद्योगीले थोरै रकम मात्र दिन बाँकी भएको दाबी गर्दै आएका छन् ।

उद्योगीले सरकारले तोकेभन्दा सस्तो मूल्यमा हिसाब गरेकाले थोरै रकम मात्र किसानलाई दिन बाँकी भएको बताउने गरेका किसानको गुनासो छ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ तोकेको छ । यो मुल्य निक्कै कम भएको उखु उत्पादक किसान संघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । चिनीको मूल्य बढे पनि किसानले भने सस्तो मूल्यमा उखु बेच्नुपरेको उहाँको भनाइ छ ।

संघर्ष समितिका संयोजक मिश्रका अनुसार देशभरबाट उखु किसानले ९० करोड रुपैयाँ चिनी मिलबाट पाउनु पर्नेछ । सर्लाहीमा मात्रै अन्नपूर्ण चिनी मिलको ३० करोड र महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ किसानलाई दिन बाँकी रहेको मिश्रले बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने उखु मिलहरुले किसानलाई ५५ करोडभन्दा बढी दिनुपर्ने बताएको छ ।

गएको पुसमा भएको समझदारीपछि केही प्रगति भएकाले बक्यौता घटेको मन्त्रालयको दाबी छ । पोहोरको आन्दोलनपछि केही उद्योगले किसानको भुक्तानी दिएपनि केही उद्योगले भने अझै भुक्तानी दिन बाँकी छ । संभार संगम समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here