काठमाडौं २९ मंसिर ।
नौ महिनासम्म भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिरमा मंगलबार क्षमा पूजा गरिने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा।प्रदीप ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ ।

मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । ‘महामारीको संकटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपनि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ’,उहाँले भन्नुभयो । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा सांकेतिक रुपमा बिरोध प्रदर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मंगलबार पशुपति प्रांगणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिनुभयो । चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । संभार जनता समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here