dav

वीरगञ्ज १७ मंसिर ।
वीरगञ्ज महानगरपालिकामा शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण प्रकृया टुंगिएको छ। सधैं शिक्षकको अभाव हुँदै आएको महानगरपालिकाले पर्साका अन्य स्थानीय तहहरुभन्दा पहिले शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण टुंग्याएको हो।नेपाल सरकारले गत साउन ५ मा देशभरका सबै स्थानीय तहहरुले आफ्नो अधिकार क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण गर्ने कार्य टुंग्याउन शिक्षक दरबन्दी कोटा कायम गरी बाटो खोलिदिएको थियो। सोही निर्णय र शिक्षा तथा मानव श्रोत विकास केन्द्रको पनि कात्तिक मसान्तभित्रको समय सीमाअनुसार नै वीरगञ्ज महानगरपालिकाले काम टुंग्याएको हो।कोरोना महामारीबीच पनि नेपाल सरकारको निर्णयअनुसार आन्तरिक रुपमा गृहकार्य गरी मिलान प्रकृया सकिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताउनुभयो। २०५८ साल यता शिक्षक दरबन्दी मिलान भएको थिएन। सरकारले दरबन्दी मिलानको बाटो खोलिदिएकाले अहिले काम पूरा भएको कर्ण बताउँछन्। मुलुकभरि चितवनको भरतपुर महानगरपालिकापछि वीरगञ्जले मिलानको काम पूरा गरेको उँहाको दाबी छ।सरकारको पछिल्लो निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाका ९८ विद्यालयका लागि नयाँ दरवन्दी २७२ वटा थप भएर आएका छन्।
यसअघि ७६२ मात्र दरबन्दी थियो। थपिएका दरबन्दीसँगै अहिले एक हजार ३४ पुगेको महानगरपालिकाले जनाएको छ।पछिल्लो दरबन्दी अनुसार विद्यालयहरुको वर्गीकरण अनुसार आधारभूत तहको कक्षा १ देखि ५ सम्म ५८३ जना, आधारभूत कक्षाको कक्षा ६ देखि ८ कक्षासम्म २३२ जना, माध्यमिक तहको कक्षा ९ र १० मा २११ र कक्षा ११ र १२ मा ५ जना शिक्षक संख्या पुगेको प्रमुख कर्णले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here