काठमाडौं २८ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो। मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो।
सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।
बितेको २४ घण्टामा देशभर २६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक सम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २ हजार १७४ संक्रमित कोरोनामुक्त भएका छन्।
आज देशभर सक्रिय कोरोना संक्रमितको सख्या ३६ हजार ३६७ जना छन्। त्यसैगरी निको भएर २१ सय ७४ जना डिस्चार्ज भएका छन्।








