काठमाडौं ६ असोज ।
नेपालमा भन्डै ५ महिनापछि कोरोना संक्रमणका कारण मात्र दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक महिला र एक पुरुष गरि २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रपलाञ्चोककी ५० वर्षीया महिला रहेका छन् । गत पाँच महिनामा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या मंगलवार सबैभन्दा कम रहेको पनि बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु दर कुल संक्रमितको शून्य दशमलव ६४ प्रतिशत रहेको छ । यस्तै हाल नेपालभर २ सय २३ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३७ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।








