सिरहा १ असोज ।
भारतले निर्यात रोके लगत्तै प्याजमा कालोबजारी सुरु भएको छ । लुकाएर महँगो मूल्यमा प्याज बिक्री गरेको आरोपमा तीन जना व्यापारीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ। गोलबजार, मिर्चैया र लहान नगरपालिकाका तीन वटा व्यापारीले आफ्नो गोदाममा राखेर कालोबजारी गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको सिरहा प्रहरीले बताएको छ।इलाका प्रशासन कार्यलय लहान, उद्योग व्यापार संघका प्रतिनिधी, स्थानीय जनप्रतीनिधि तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पसलहरु अनुगमन गर्दा कालोबजारी गरेको पाइएको सिरहाका प्रहरी प्रबक्ता बिनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरीले ७ हजार किलोभन्दा बढी प्याज समेत बरामद गरेको छ ।गोलबजार नगरपालिका ४ मा जय लक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका ५ बस्ने ४४ वर्षीय उमेश प्रसाद साह, मिर्चेया नगरपालिका ५ मा जयमाता दी सब्जी भण्डारका सञ्चालक बिनोदकुमार साह र लहान नगरपालिका-३ का गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई प्याज कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको प्रबक्ता घिमिरेले बताउनुभयो। उनीहरुले लुकाएर राखेको ७ हजार ४ सय ४० किलो प्याज बरामद गरेको उँहाले बताउनुभयो। प्याज कालोबजारी गरेको पाइएपछि उनीहरुको पसल र गोदाम समेत सिल गरिएको र अन्य अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो।








