रौतहट, भदौ २६ । रौतहट जिल्लाको गढिमाई नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको पुर्वी भेगमा अवस्थित धर्मपुर घाट स्थित बागमति नदीको किनारमा नयाँ सडक निर्माण कार्य तिव्र गतिमा भइरहेको छ । पुल देखी पुर्व ५ किलोमिटर लामो सडक निर्माण कार्य दु्रत गतिमा भइरहेको छ । निर्माण कार्य भइरहेको सो सडकको आधी भाग रौतहटको गढिमाई नगरपालिकामा पर्छ भने आधी भाग सर्लाहीको धनकौल गाउँपालिकामा पर्दछन । रौतहट र सर्लाहीको विच भाग सो सडक परेको हुनाले रौतहट र सर्लाही दुवै जिल्लाका सम्बन्धित स्थानीय तह अथवा जनप्रतिनिधिले सो सडक निर्माणको लागि सहयोग गर्नुपर्ने हो तर सर्लाहीका कुनै पनि स्थानीय तह र जनप्रतिनिधिहरु सो सडक निर्माण गर्न कुनै चासो नदेखाएपछि गढिमाई नगरपालिकाका मेयर श्याम यादवले मात्रै आफनै नगरपालिकाको लगानीमा उक्त सडक निर्माण कार्य थाल्नुभएको छ ।
सडक विनाको पुलको कुनै औचित्य हुँदैन, सडकको अभावमा सो पुल प्रयोग विहिन हुन थालेको र सो पुलको बाटो निर्माण गर्न चारैतिरबाट दवाव आएकोले नगरपालिकाको लगानीमा उक्त सडक निर्माणको कार्य सुभारम्भ गरेको मेयर श्याम यादवले बताउनुभयो । ६ वटा जेसीवी डोजरबाट अहिले महिनाथपुर घाट बाट नै उक्त सडकको ट्रयाक खोल्ने अर्थात माटो पुर्ने काम भइरहेको र अगामी १५ दिन भित्रमा माटो पुर्ने काम सम्पन्न भइसक्ने उहाँले बताउनुभयो । आउँदो माघ देखी उक्त सडक पुर्ण रुपमा सञ्चालन भइसक्ने उहाँले बताउनुभयो । नदीको पुलको सो बाटो निर्माण भएपछि रौतहटबाट सर्लाही र सर्लाहीबाट रौतहट आवत जावत गर्न सर्वसाधारणहरुलाई सहज हुने छ । उक्त ठाउँमा अहिले सडक नभएका कारण रौतहट सर्लाहीका साथै अन्य जिल्लाका हजारौ यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन भने धेरैले १० किलोमिटर घुमाउरो बाटो भएर समनपुर घाट स्थित डुंगा चढेर जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेका छन ।








