रुपन्देही, १९ भदौ (रासस) ।
रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका सङ्क्रमितको मृत्यु भएको हो ।
होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका –८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।
यस्तै बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि बिहान बुटवल उपमहानगरपालिका – ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुर्घटनामा निधन
रुपन्देही जिल्लाको गैडहवामा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । गैडहगवा गाउँपालिका वडा नं ५ तेलण्डियास्थित लुम्बिनी –कलौनी सडकखण्डमा लु १४ प ७९४४ नंको मोटरसाइकल आज आफैँ अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा चालक रूपन्देही जिल्ला, शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय समुजराम केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते केवटको उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा हात र खुट्टामा सामान्य चोट लागेका मोटरसाइकलमा सवार ३५ वर्षीय गुडिया केवटको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here