रौतहट, १७ भदौ (रासस) ।
दलित सङ्घर्ष समिति रौतहटले १० सूत्रीय मागसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गरुडा अगाडि जारी दलितको धर्नास्थलमा आज पत्रकार सम्मेलन गरी समितिले आफ्ना माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रहरी हिरासतमा रहेका सिकेन्द्र पासवान, अजय राम, विवेक राय यादव र अर्जुुन रामको रिहाइको माग गर्दै मृतक निरञ्जन राम र विजय रामलाई शहीद घोषणा गर्न माग गरिएको छ । यस्तै प्रहरीको यातनापछि मृत्यु भएका विजयको मुद्दा दर्ता गरी दोषी प्रहरीलाई कारवाहीको माग गरिएको छ । मृतक निरञ्जनको मृत्युका अभियुक्त लखन साह र राजगिर साहलाई कानूनी दायरामा ल्याउन माग गरिएको समितिका अध्यक्ष सोनालाल रामले बताउनुभयो ।
गत साउन ३२ गते गरुडा नगरपालिका–८ जिंगडियाका २२ वर्षीय निरञ्जनको हत्या गरिएको अभियोगमा पक्राउ परेका विजयको उपचारका क्रममा यही भदौ १० गते नेशनल मेडिकल कलेजमा मृत्युु भएको थियो ।
यता इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो प्रदेश नं २ मा तानिनुभएको तथा प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित दुई हवलदार निलम्बनमा पर्नुभएको छ । यसैबीच गृह मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले घटनाको छानबिन शुुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here