लमजुङ, १२ भदौं (रासस) ।
यहाँ सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा समुदायमा देखिँदै आएको कोरोना सङ्क्रमणबाट सञ्चारकर्मीसमेत अछुतो हुन सकेनन् । जिल्लाका कार्यरत २७ वर्षीय पुरुष पत्रकारलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । सङ्क्रमित महिला भने करिब पाँच दिन अघि भारतबाट आउनुभएको थियो । उहाँ पालिकाको क्वारेन्टाइनमा बस्नु भएको थियो ।

सङ्क्रमित सञ्चारकर्मीलाई बेँसीशहर–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेसन र महिलालाई भने बेँसशिहरमै रहेको जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

जिल्लामा हालसम्म ११ महिलासहित १४५ कोरोना सङ्क्रमित भएकामध्ये नौ महिलालगायत १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल दुई महिला र ३२ पुरुष गरी ३४ जना जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत रहेका प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here