गण्डकी, ४ साउन (रासस) ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले पोखरा महानगरपालिका– ७ मुस्ताङचोकमा प्रहरी अस्पताल भवन निर्माण सम्पन्न गरेको छ ।
सेवामा समर्पित प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार एवं भूतपूर्व प्रहरी कर्मचारीको औषधोपचार गर्ने लक्ष्यका साथ नेपाल प्रहरी कल्याण कोषको रु २८ लाख २३ हजारको लागतमा सो भवन निर्माण गरिएको हो ।
जनरल ओपिडीसहित वार्ड ल्याब र फार्मेसी सेवा सञ्चालन गर्दै आएको अस्पतालले नवनिर्मित भवनसँगै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञलगायतका अन्य सेवा प्रदान गर्ने भएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले आज आयोजित एक समारोहका बीच सो नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरिएको जानकारी दिनुभयो ।
विसं २०४० मा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडाँैमा स्थापना गरी सञ्चालनमा आएको बताउँदै उहाँले गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
कूल एक हजार १०६ वर्गफिट क्षेत्रफलमा निर्माण सम्पन्न गरिएको सो अस्पताल भवनमा सोधपुछ कक्ष, ओपिडी, आकस्मिक कक्षसहित स्टाफ तथा सेवाग्राहीका लागि आवश्यक शौचालयको व्यवस्था गरिएको प्रदेश प्रहरी कार्यालय टिएसटी प्रमुख प्रहरी निरीक्षक नीरञ्जनकुमार सिंहले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो । कार्यक्रममा भवन निर्माण कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।