रौतहट ३, साउन ।
रौतहटका बैक तथा वित्तिय संस्थाहरुबाट लिएका ऋणिहरुलाई ऋण तिर्ने अवधि २ बर्ष थपिने भएको छ । राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गर्ने निर्णय भए संगै रौतहटका नागरिकहरुले उक्त सुविधा पाउने भएका हुन ।कोरोना प्रभावित जिल्लाहरुमध्ये रौतहट पनि एक हो । जसले गर्दा रौतहटका नागरिकले राष्ट्र बैकले गरेको निर्णय सहजै प्राप्त गर्न सक्ने भएका हुन । आर्थिक वर्ष २०७७÷ ७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिनुभएको छ । कोभिड १९ को कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न र सञ्चालन हुन नसकेको अवस्थामा पर्यटकको लागि खोलिएका स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्न प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जानकारीदिनुभयो
। यसैगरी, २०७७ असार मसान्तसम्म असुल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता ऋणीको आवश्यकता र व्यवसाय सुरु हुन लाग्ने समय मूल्याङ्कन गरी बढीमा ६ महिनासम्म भाका सार्न सक्ने व्यवस्था मिलाइने अधिकारीले बताउनु भएको छ ।