कास्की, २६ जेष्ठ । कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङजा जिल्लाको वालिङ नगरपालिकाका ३ सिँगारकोषका ६० वर्षीय एक जना पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा भर्ना भएका उनको आइतवार मृत्यु भएको आज निर्देशनालयले प्रेश विज्ञप्ती जार्दै गर्दै जानकारी दिएको छ । वालिङ नगरपालिकाका नगरप्रमुख दीलिप प्रताप खाँडका अनुसार मृत्यु भएका ती व्यक्ति भारतबाट जेठ २१ गते गाउँ फर्किएका थिए । सीमानाका सुनौलीमै उनी बिरामी भएपछि उद्दार गरि पोखरा पठाईएको खाँडले बताए । खाँडका अनुसार उनी मिर्गौला रोगबाट पीडित बिरामी थिए । यसैबिच आज नै पोखरा महानगरपालिका ४२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका उनी अस्पतालको आईसुलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ सय १५ पुगेको छ । मुस्ताङ र मनाङ वाहेक प्रदेशका अरु ९ जिल्लामा संक्रमण फैलिसकेको छ ।