रौतहट, २ जेष्ठ । विश्व व्यापी महामारीको रुपमा रहेको कोभिड(१९ को संक्रमण कम गर्न तथा रोकथामको लागि नेपाल सरकारले गरेको बन्दाबन्दी रौतहटको स्थानीय तहहरुमा उलंघन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले लकडाउन कडा पार्न अति आवश्यक एम्बुलेन्स, औषधी पसल, पेट्रोल पम्प र दमकल मात्रै संचालन गर्न सूचना जारी गरेको भए पनि त्यसको बेवास्ता गर्दै जिल्लाको चन्द्रपुर र गुजरा नगरपालिकामा दर्जनौ टिपर संचालनमा छन् । जिल्लाको पश्चिम उत्तरमा रहेको गुजरा नगरपालिकाको वडा नम्वर ३ मा पर्ने लाल बकैया खोलाबाट शुक्रबार बिहान देखि अनाधिकृत रुपमा नदी जन्य वस्तु दोहन गरेर ओसारपसार गर्ने गरेको स्थानीय शिक्षक संजय चौधरीले बताए । विकास निर्माणको नाममा यसरी नदी जन्य वस्तु ओसारपसार गरेर टिपर संचालकले लकडाउनको उलंघन गरको देख्दा स्थानीय बासिन्दा त्रसित भएको र वडा नम्वर ३ र ४ नै कोरोनाको उच्च जोखिममा पर्न सक्ने चौधरीले बताएका छन् । एक ठाउँबाट अर्को ठाउँमा जान आउन पूर्ण रुपमा निषेधित गरेको अवस्थामा यसरी दर्जनौ टिपर संचालन हुँदा समेत स्थानीय प्रशासन मौन बसेको समाजसेवी हरिबंश मैनालीले बताएका छन् १ मैनालीका अनुसार यस्तो किसिमको गतिविधी नियन्त्रणका लागि अब हामी स्थानीय बासिन्दा स्वयम सक्रिय भएर लाग्नु पर्ने बताए । बुधबार चन्द्रपुर नगरपालिकामा प्रहरी सहित बसेको सर्वपक्षिय बैठकमा इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख हेम बहादुर शाहीले चन्द्रपुर, गुजरा, वृन्दावन र गढीमाई नगरपालिकाका औषधी पसल, एम्बुलेन्स, पेट्रोल पम्प र दमकल बाहेक निजी तथा भाडाका गाडी, सरकारी कार्यालय,बैंक, उद्योग आदी संचालनमा पूर्ण रुपमा रोक लगाउने र त्यसको उलंघन गरे कडा कारवाही गर्ने डिएसपी शाहीले बताए पनि चन्द्रपुर र गुजरा नगरपालिकामा दर्जनौ टिपरले लकडाउन उलंघन गर्दै आतंक मच्चाउदा समेत स्थानीय प्रशासन मुकदर्शक भएर बसेका छन । यस विषयमा इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी शाहीसँग बुझ्दा चन्द्रपुर क्षेत्रमा संचालनमा रहेका सम्पूर्ण टिपरहरूलाई संचालनमा रोक लगाएको बताएका छन, यसै गरि इलाका प्रहरी कर्यालय फतुवा बिजयपुरका प्रहरी निरीक्षक चन्द्र किशोर साहले लकडाउनले विकास निर्माणको काममा असर पर्ने भएको हुदाँ माथिल्लो निकायको आदेशमा विकास निर्माणका गतिविधिलाई तथा टिपर संचालनमा रोक नलगाएको र यसले समाजमा असर पर्न गएमा रोक लगाउने विषयमा समेत छलफल गर्ने बताएका छन् ।