बारा, २ जेष्ठ । कोरोना सङ्क्रमितको सख्या दिनानुदिन बढ्दै गएपछि बाराका करिब ४० जना पत्रकारहरूले कलैया अस्पतालमा कोरोनाभाइरस परीक्षणका लागि चिकित्सक समक्ष स्वाब दिएका छन् ।
समाचार सङ्कलन गर्न फिल्डमा गएका ४० जना पत्रकारले कोरोनाबाट आफू सुरक्षित भए नभएको पत्ता लगाउन कलैया अस्पतालमा शुक्रबार पीसीआर परीक्षणको लागि स्वाब दिएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. वीरेन्द्रप्रसाद मण्डलले बताउनुभयो ।
केही दिनदेखि पर्साको वीरगञ्ज तथा बारा जिल्लामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि यसरी पत्रकारहरूको समूहले चेकजाँच गराएको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
तराईका जिल्लाहरूमा कोरोनाको सङ्ख्या बढ्दै गएपछि प्रदेश २ सरकारको अनुरोधमा गृह मन्त्रालयको आदेशमा बारा, पर्सा जिल्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो । बाराको सदरमुकाम कलैया बजार सुनसान देखिए पनि ग्रामीण भेगका स्थानीय तहमा निषेधाज्ञा नै नभएको स्थानीयहरूको सहभागिताले पुष्टि हुने बताइएको छ ।
कोरोना नियन्त्रणका लागि नागरिकलाई घर भित्रै बस्न आग्रह गरिए पनि नटेरेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यता, प्रदेश २ सरकारले कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गरेको निर्णयको विरोध शुरु भएको छ ।
उता पर्सा जिल्लामा सङ्क्रमित देखिएका ३९ जना मध्ये दुई जना पत्रकारमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो । अन्य पत्रकार सङ्क्रमित भए नभएको बारेमा ३० जनाको स्वाब सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । संभार गाेरखापत्र अनलाइन