काठमाडौं, २९ वैशाख ।
भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।
युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा ओली र मोदीको पुत्ला दहन गरेका हुन् ।
प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् ।
उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा सोमबार मध्यान्न उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन् । आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए ।