राँझा २६ वैशाख, । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि बाँकेमा परीक्षण दायरा विस्तार गरिएको छ। कोरोना सङ्क्रमित क्षेत्र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ सँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत परीक्षणलाई विस्तार गरी तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बिहीबारदेखि नेपालगञ्जको कोरोना सङ्क्रमित क्षेत्रसँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न थालिएको हो। उक्त क्रममा बिहीबर बाँकेका थप ४८ जनाको स्वाब सङकलन गरिएको छ। कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रममा बिहीबार तीन स्थानबाट ४८ जनाको स्वाब सङ्कलन गरिएको हो।
नेपालगञ्जको बिपी चोक आसपासबाट ३०, खजुरा गाउँपालिका वडा नं ७ सोनपुरबाट १७ र क्यान्सर अस्पताल खजुराबाट एक जनाको स्वाब सङ्कलन गरिएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए।
यसअघि पहिलो सङ्क्रमित व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरेर नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का विभिन्न स्थानबाट ९४ जनाको स्वाब लिइएकामा एउटै टोलका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको हो।
हालसम्म कोरोना सङ्क्रमित क्षेत्र वडा नं ८ मा मात्रै पहिलो पटक ९४, दोस्रो पटक ५४ र तेस्रो पटक १३६ गरी २८४ जनाको स्वाब सङ्कलन गरिएको छ। पहिलो पटक सङ्कलन गरिएको ९४ मा २२ जना सङ्क्रमित भेटिए पनि दोस्रो पटक सङ्कलन गरिएको ५४ मा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ।
तेस्रो चरणमा सङ्कलन गरिएको १३६ स्वाबमध्ये बिहीबार आएको ३४ जनाको रिपोर्ट नेगेटिभ रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। एक सय दुई जनाको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको पिसिआर प्रयोगशालामा परीक्षणका क्रममा छ।
बाँके आजदेखि ४ घण्टा खुलास्
बाँके प्रशासनले नेपालगञ्जमा तीन दिनदेखि जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ। निषेधाज्ञा हटाएसँगै नेपालगञ्जमा व्यापारव्यवसाय खुकुलो बनाइने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएका छ। प्रशासनले यही वैशाख २३ गतेदेखि २५ गते राति ११ बजेसम्मका लागि तीन दिन निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनले आजदेखि अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने तथा सवारी, अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुनेबाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्तिमा जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेले यस अघि बन्द गरिएका कोरोना संक्रमित क्षेत्रमा निषेधित क्षेत्रको आदेश भने कायमै रहने जनाएको छ। नेपालगञ्जका रानीतलाउ, त्रिभुवनचोक र बिपी चोकमा रहेको सब्जीमण्डी अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जनाइएको छ। रासस