कपिलवस्तु २६ वैशाख । विजयनगर गाउँपालिकामा कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । सीमाको सुरक्षा र गाउँगाउँमा जनचेतना फैलाउनका लागि ५० युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको हो ।
गाउँपालिकामा लकडाउन पालना गराउन र सामाजिक दूरी कायम गर्न म्यादी प्रहरीले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । क्वारेन्टाइन सुरक्षाका लागि १२, सीमामा पैदल यात्रुको निगरानी गर्न २१, ठेक्का दिइएका नदी तथा खोलाको निगरानीका लागि आठ र गाउँटोलमा ९ जना म्यादी प्रहरी परिचालन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी म्यादी प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । स्थानीय नागरिकलाई म्यादीमा भर्ना गरिएकाले समुदायको तल्लो तहसम्म पुगेर काम गर्न सहज हुने अध्यक्ष थापाको विश्वास छ । संभार
जनता समाचार