सर्लाही, २२ बैशाख । सर्लाहीमा हावाहुरी आएपछि आफ्नै घरको जस्ताको छाना उडाएर काटिँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सर्लाहीको कविलासी नगरपालिका–३ बिनगराका १९ वर्षीय राजेश यादवको जस्ताले काटिएर घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार अचानक आएको हावाहुरीले यादवको दुईतले घरको छाना उडाएको थियो । घरमै लुकेर बसेका यादवको टाउको, घाँटी तथा बायाँ पाखुरा काटिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । गत वर्ष रामनगरमा हावाहुरीमा उडाएको छानाको किला टाउकोमा गाडीएर एक जनाको मृत्यु भएको थियो ।
यस्तै, हरिवनस्थित कैलाशपुरी जंगलमा रुखको हाँगामा च्यापिएर हरिवन नगरपालिका–१ का नारायण श्रेष्ठको मृत्यु भएको छ । सोमबार बिहान घाँस झार्न रुखमा चढेका श्रेष्ठ हाँगामा च्यापिएका थिए । रुखको हाँगामा च्यापिएर सख्त घाइते भएका श्रेष्ठलाई उपचारका लागि नमुना अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।