पर्सा १९ वैशाख । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको घरमा प्रशासनले छापा मारेको छ ।

वीरगन्ज महानगरपालिका कार्यालयले वडा नं १४ मा राहत वितरणका लागि पठाएको चामल डल्लो परेको, कुहिएको भेटिएपछि प्रहरीले मेयर विजय कुमार सरावगीको घरमा रहेको गोदाममा छापा मारेको हो । महानगरपालिका कार्यालयले वडा १४ का एक सय २५ जनाका लागि राहत वितरण गर्न ९ सय ५० किलो चामल पठाएको थियो । दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारलाई राहत वितरणका लागी प्राप्त भएको चामल प्याकिङ गर्ने क्रममा चामलको बोराभित्र चामल डल्लो परेको र सडेको अवस्थामा भेटिएको वडाध्यक्ष भरत कुर्मी बताउनुहुन्छ । लक डाउनका बेला विपन्न र गरिब परिवारलाई राहत वितरण गर्नुपर्ने चामल डल्लो परेको, सडेको फेला परेपछि वडाध्यक्ष भरत कुर्मीले राहत वितरणमा रोक लगाएको बताउनुभयो ।

राहतमा कुहिएको चामल फेला परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिले अनुगमन समेत गरेका छन् । अनुगमन समितिमा रहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिले शिलबन्द बोराबाट चामलको नमुना संकलन गरेर लगेको वडाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । संकलित नमुनाको गुणस्तरण जाँच्न जनकपुर पठाइएको छ ।

सडेको चामल राहत वितरणका लागि पठाएको जानकारी पाएपछि स्थानीयले चर्को विरोध गरेका थिए । आम नागरिकहरुले समाजिक सञ्जालमा मेयर विजय सरावगीमाथि कडा भन्दा कडा कार्वाहीको माग गरेपछि प्रहरीले मेयर सरावगीको गोदाममा छापा मारेको हो । सामाजिक सञ्जालमा मेयर विजय सरावगीको राजिनामा समेत माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here