काठमाडौं, १४। नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन जनता समाजवादीका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

जसपा नेपालका नेता डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, आगकाजी शेर्पा, शरदसिंह भण्डारी, हिसीला यमि लगायतका नेताहरु आफना अपरहण मुक्त भएका सांसद डाक्टर सुरेन्द्र यादवलाई लिई उजुरी दिन आइतबार परिसर पुगेका हुन् ।

पुर्व आईजिपी खनालसहित सांसद बस्नेत र सांसद श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

गत बुधबार महोत्तरीस्थित घरमै रहेका सांसद यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।

यता पार्टी फुटका लागि सांसदनै अपहरणमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।
उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्दकसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
