काठमाण्डौ, १० बैसाख।
नेपाललाई भारतले २३ टन औषधी सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
भारत र नेपाल बीच कोभिड–१९ विरुद्ध लड्न जारी सहकार्यको क्रममा भारत सरकारले नेपाललाई नेपाल भारतीय दुतावास मार्फत औषधीहरु हस्तान्तरण गरेको छ ।
भारतिय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त औषधीहरु बुधबार हस्तान्तरण गरेका हुन् ।
भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको सो औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु रहका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्समा सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको भारतले जनाउदै आएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न नेताहरुले प्रतिबद्धता जनाउदै आएका छन् ।