सर्लाही, १० वैशाख सर्लाहीको क्वारेन्टाइनमा रहेका एक आठ महिने शिशुको ज्यान गएको छ ।
सर्लाहीको उत्तर–पूर्वी चरेभेगस्थित लालबन्दी नगरपालिका १५ परवानीपुर झल्ला चौडीमा आमाबुबासँगै क्वारेन्टाइनमा रहेका ८ महिने शिशुको मृत्यु भएको हो ।
रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर फुलजोरका तारादेवी वाईवा आफ्नी श्रीमती र आठ महिने छोरासहित तीन दिनअघि मात्रै गाउँ आएका थिए । उनीहरुलाई तत्काल घर पठाउँदा गाउँले त्रसित हुने भन्दै स्थानीय जनप्रतिनिधिले झल्ला चौडीस्थित रुन्चे बजारको विद्यालयमा अस्थायी क्वारेन्टाइन निर्माण गरी बस्ने व्यवस्था मिलाएको थियोे ।
सोही क्वारेन्टाइनमा मंगलबार बेलुका आमाबुवासँगै सुतेका बालकको राती मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा तारादेवी वाईवाले बच्चालाई राती अचानक धेरै ज्वरो आएको र निमोनियाको समस्या पनि देखिएको वुधवार बिहानै घटनास्थलमा पुग्नु भएका स्थानीय युवा दीपक साशङ्करले जानकारी दिए । झल्ला चौडी ईश्वरपुर नगरपालिका वडा नं। १२ घारिबथानको फूलजोर गाउँ नजिकै पर्छ ।
यस्तै लालबन्दी बजारस्थित नगरपालिकाबाट स्वास्थ्यकर्मीहरुको टोली घटनास्थलतर्फ हिँडेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले बताए ।
कोरोनाभाइरस कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएपछि स्थानीयमा त्रास फैलिएको छ ।
नेपालमा कोरोना संक्रमित भेटिएका यी हुन ४२ व्यक्ति, कुन व्यक्तिमा कसरी सर्यो भाइरस