काठमाण्डौं, ८ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २४ घण्टामा गरिएका ३ सय २४ जनाको कोभिड १९ परीक्षणमा नयाँ पोजिटिभ केस नदेखिएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले कोभिड१९ सम्बन्धी मिडिया बिफ्रिङमा देशभर गएको २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको स्वास्थ्य प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनु भएको हो।
प्रवक्ता टेवकोटाले हालसम्म देशभर ८ हजार ४ सय १४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण भएको बताए ।
उनले हालसम्म नेपालमा ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको जसमध्ये ४ जना निको भइसकेका र बाँकि २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको बताए। उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।
प्रदेश नं. १ को कोशी अस्पतालमा १३ जना, प्रदेश नं. २ को नारायणी प्रादेशिक अस्पताल ४ जना, सुदुरपश्चिम प्रदेशमा ३ जना, वागमति प्रदेशमा टेकु अस्पतालमा १ जना र चितवनमा २ जनाको उपचार भइरहेको छ।
सरकारले देशका सबै जिल्लामा दूत परीक्षण आरडिटी प्रविधिबाट पनि परीक्षण भइरहेको जनाएको छ। हालसम्म देशभर २५ हजार १ सय ४८ जनाको परीक्षण भएको जनाएको छ। गत २४ घण्टामा ३ हजार १९ जनाको परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here