चन्द्रपुर, ७ बैसाख ।
लकडाउन जारी रहे सम्म रौतहटका वन र वन्यजन्तुको संरक्षण गर्न जंगल प्रवेश गर्न निषेध गरिएको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैल्न नदिन सरकारले गरेको लकडाउनको मौका छोपी वन र बन्यजन्तुको दोहन गर्ने क्रम बढेपछि लकडाउन अवधिमा अवैध गतिविधि बढ्ने संभावना रहेकोले डिभिजन वन कार्यालय, रौतहटले वनक्षेत्र प्रवेश निषेध गरेको हो।
लकडाउनका बेला मानिसहरु अनाधिकृतरुपमा वन क्षेत्रमा प्रवेश गरी वनमा डढेलो लगाउने, वन्यजन्तको चोरी शिकार गर्ने र वन पैदावारको चोरी निकासी गर्नेलगाएतका गतिविधि बढेको जनगुनासो आएपछि रोकथामका लागि लकडाउन जारी रहे सम्म वनभित्र प्रवेश निषेध गर्न बाध्य भएको डिभिजन वन कार्यालय, रौतहटले जनाएको छ ।
डिभिजन वन कार्यालय, रौतहटका प्रमुख विनोद सिंहले वनको क्षेत्राधिकार भित्रका राष्ट्रिय वन (सामुदायिक वन,साझेदारी वन,धार्मिक वन र सरकारद्धारा व्यवस्थित वन) क्षेत्रमा वन संरक्षणका गतिविधि बाहेक अन्य क्रियाकलापहरु गर्न नपाउने गरी वन ऐन, २०७६ को दफा ९ बमोजिम जंगल प्रवेशमा निषेध गरिएको जानकारी गराए।
प्रमुख सिंहले यसअघि वन प्रवेश निषेध गर्ने बारेको सुचना जारी गरिसकेको समेत बताउनु भयो । वन प्रवेश गरेमा वन ऐन, २०७६ को दफा ५० (१) (ख) बमोजिम एक महिना सम्म कैद वा एक हजार रुपैयासम्म जरीवाना वा दुबै सजाय हुने ब्यवस्था रहेको साथै सबै सव–डिभिजन वन कार्यालय र वन समुहले लकडाउनको अवधिमा संरक्षणमुखी बिशेष कार्ययोजना बनाउँदै संरक्षण गर्न पत्राचार गरिएको सिंहले बताए ।