जनकपुरधाम, ७ बैसाख।

सरकारले कोराना महामारी नियन्त्रणका लागि घोषणा गरेको लकडाउनका कारण समस्यामा परेकाहरुका लागि प्रदेश नं. २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षित परिवारको घरमा सोझै राहत पुर्‍याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तहमार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई मध्यनजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको छ ।
स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्ट सहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरि वास्तविक पिडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ।
यसैगरी बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गरेको छ ।
सो रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गरिने जनाएको छ। त्यसै गरि मन्त्रीपरिषदले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैया दिने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here