काठमाडौं,४ बैसाख ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा स्वाब परीक्षण विधि (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक विधि (आरडीटी)बाट परीक्षण भएका सबै नमुनाको नतिजा नेगेटिभ देखिएका जानकारी गराएको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास टेवकोटाले पिसिआर विधिबाट ३ सय ६९ जना र आरडिटी विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएकोमा पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको बताए ।
वीरगञ्जको छपकैयामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय ¥यपिड परीक्षण भएको छ । अहिलेसम्म दुबै विधिबाट १९ हजार ३ सय ३२ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट ७ हजार २ सय ४० र आरडिटी विधिबाट १२ हजार १ सय ९२ परीक्षण भएका छन् ।
देशभरी नै सरकारले आरडिटी परीक्षणको दायरा बढाएको छ । ८ जिल्ला बाहेक सबै जिल्लामा आरडिटी परीक्षण सुरु भएको छ । ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु नभएको प्रवक्ता देवकोटाले बताए ।
काठमाडौं उपत्यकाका १६ वटा नीजि अस्पतालले कोभिड क्लिनिक सञ्चालनको अनुमति पाएको र यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा नीजि मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएको समेत उनले जानकारी गराए ।
४ हजार ९ सय १ जना अहिले क्वारेन्टाइनमा रहेको उपत्यकामा ८ र बाहिर ९५ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् । नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना उपचारपछि घर फर्किएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनको भनाई रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here