मनोज यादव
सर्लाही १ बैशाख ।
कोरोना भाइरस९कोभिड १९ को संक्रमित नेपालमा देखा परेपछि सरकारले उच्च सर्तकता अपनाउँदै लगाएको लकडाउनको उल्लघंन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । लक डाउन सुरु भए यता सर्लाहीमा लकडाउन उल्लघंन गर्ने ४५० वटा सवारीसाधनहरु सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले कोरोना भाइरसलाई नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउन अटेर गर्ने सर्लाहीका विभिन्न स्थानबाट ४५० वटा सवारी साधनहरु नियन्त्रणमा लिएको जानकारी दिनुभयो । जसमध्ये आइतवार र सोमवार हिजो र आज मात्रै २७२ वटा सवारीसाधनहरु नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो । सरकारले अतिआवश्यक बाहेक अन्य सवारी साधन तथा व्यक्तिहरुलाई घरभित्रै बस्न आह्वन गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । प्रहरी नायव उपरिक्षक कुवँरले लकडाउन भनेको घर भित्रै बस्नका लागि भएकोले सडकमा रमिता हेर्न निस्किएका व्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । उहाँले लकडाउन कार्यान्वयन र सरकारको निर्णय पालना गर्न सर्वसाधारणलाई अनुरोध पनि गर्नुभएको छ ।