रौतहट ३० चैत । रौतहटको गढीमाई नगरपालिकाले तीन कर्मचारीलाई बर्खास्त गरेको छ। नगरपालिकाको राहत वितरण सम्बन्धमा भ्रम सिर्जना गरेको र सामाजिक संजालमा जथाभावी पोस्ट गरेको आरोपमा गढीमाई नपा ६ को स्वास्थ्य चौकीका अहेव सुनील कुमार यादव, कार्यालय सहयोगी रौशन कुमार कलवार र सोही वडाको वडा कार्यालयका कास दिलिप साहलाई नपाले बर्खास्त गरेको हो।

बर्खास्तमा परेका तीनजनै कर्मचारी करारमा नियुक्त गरिएका थिए। वडा नम्बर ६ को लागि आएको राहत मेयर र नगरपालिकाका कर्मचारीले बाँडेर खाएको भन्दै कर्मचारीहरुले दुष्प्रचार गरेकोले उनीहरूलाई बर्खास्त गरिएको मेयर श्यामप्रसाद यादवले जानकारी दिए।

बर्खास्त गरिएका कर्मचारी र थप दुईजनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नगरपालिकाले इलाका प्रहरी कार्यालय गरुडामा पत्राचार गरेको छ। स्थानीय व्रज यादव र मोहन पण्डित समेत तीन जनै बर्खास्त कर्मचारीले सामाजिक संजालमा जथाभावी पोस्ट गरेको र राहत वितरण गर्ने वातावरण नै बिगारेको भनी छानबिन गरी कारबाहीको लागि माग गरिएको गढीमाई नपाका निमित्त कार्यालय प्रमुख नागेन्द्र यादवले बताए।

वडा नम्बर ६ मा अझै राहत वितरण गर्न बाँकी छ। राहतको लागि ५६५ जनाले नाम लेखाएकामा छानबिन गरेर आवश्यक देखिएको जतिलाई राहत प्रदान गरिने मेयर यादवको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here