काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी ओली लगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको मानमर्यादामा आँच आउनेसम्मको अफवाह फैलाउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका ५ घर भएका ४६ वर्षीय राम कुमार रघु श्रेष्ठ रहेका छन् ।
ताराले प्रधानमन्त्री ओलीलगायत विशिष्ट व्यक्तिहरु तथा श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्यादामा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
उनीहरु उपर विद्युतीय कारोबार ऐन, २०६३ विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने “विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरु” प्रकाशन गरेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ । सभार जनता समाचार