राजेश कुमार शर्मा ।
विराटनगर, २६ चैत । लकडाउनको समयमा लागूऔषध तस्करी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पूर्व-पश्चिम राजमार्गको मोरङको बेलबारी खण्डबाट ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको हो । लकडाउनका कारण सवारी साधन बन्द छन् । तर प्रदेश २, ००१ प २६७२ नम्बरको मोटरसाईकलमा सवार सिरहाको मिर्चैया नगरपालिका– २ बस्ने सन्तोष सिंह र विजय मण्डलको साथबाट ३१ ग्राम ६९ मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
पक्राउ परेका युवाले मिर्चैयाकाे २ नम्बर वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय सिराहबाट सवारी पासकाे अनुमति लिएका थिए ।
लकडाउनको समयमा राती साँढे ७ बजे बेलवारी नगरपालिका– ३ बाट संकास्पद देखिएपछि चेकजाँच गर्दा ब्राउन सुगर भेटिएकाे हाे ।
फेसबुक म्यासेन्जरमा भिडियो कन्फ्रेन्स गर्दै प्रहरी उपरीक्षक अधिकारीले दुईजनालाई पक्राउ गरिएको बताए । उनका अनुसार पक्राउ परेकाहरूले झापाको दमकबाट खरिद गरेर ल्याएको बयान दिएका छन् ।
बरामद ब्राउन सुगरको बजारमूल्य प्रतिग्राम ५० हजार हाराहारी छ ।