रौतहट, २४ चैत । रौतहटमा माछा मार्ने विवादमा दुई पक्षविच झडप, नियन्त्रणका लागि प्रहरीद्वारा हवाई फायरको छ। प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि दुई राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ। घटना रौतहटको दुर्गा भगवती गाउँपालिकाको हो। सर्लाही र रौतहटको बीचमा पर्ने बागमती नदीमा माछा मार्ने विषयमा सर्लाही र रौतहटका दुई समूहबीच सोमवार दिउँसो झडप भएको हो। सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको दुर्गा भगवती गाउँपालिकाले बागमतीको माछाको ठेक्का गरेका थिए। दुवै गाउँपालिकाले एउटै नदीको माछाको ठेक्कामा बेचेपछि विवाद बल्झेको थियो।
सोमवार दिउँसो सर्लाहीतर्फबाट माछाको ठेक्का सकार गर्ने वीरा सहनी र रौतहटतर्फबाट ठेक्का सकार गर्ने भोला सहनीको समूह माछा मार्न बागमती नदीमा पुग्दा दुवै पक्षबीच झडप भएको हो। झडपमा भोला सहनी घाइते भएका छन्। सहनीको टाउको चोट लागेकोे छ। सहनीको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पिपरा बजारमा भइरहेको छ। दुई पक्षबीच बागमती नदीमा झडप भइरहेको छ भन्ने थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय पिपरा बजारबाट खटिएर गएको प्रहरीको टोली घटनास्थलमा पुग्नासाथ सर्लाहीको वीरा सहनी पक्षले प्रहरीमाथि नै आक्रमण गर्न पुगेको थियो। प्रहरीमाथि नै आक्रमण भएपछि आत्मरक्षाको लागि प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले बताएका छन्। दुवै पक्ष मिलेर समस्याको स्थायी समाधान गर्नुपर्ने एसपी खड्काको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here