इन्द्रकमल जैरु ।
नईदिल्ली, ५ अप्रिल ।
कोरोना भाईरस महामारीका कारण भारतमा गरिएको लकडाउनले भोकमरीको स्थितिमा पुगेका नेपालीहरूलाई विभिन्न प्रवासी संगठन र व्यक्तिहरूले खाद्य सामग्री सहयोग गरिरहेका छन्। पुरै भारतमा १० हजारभन्दा धेरै नेपालीहरु लकडाउनले कष्टकर जीवन बिताउन बाध्य छन भने ३ हजारभन्दा धेरै नेपालीहरु भोकमरिको स्थितिमा पुगेका छन ।
नेपाल सरकारको बेवास्ताका कारण भारतमा विभिन्न राज्य र नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीहरु भोकै रहन बाध्य भएका बेला भारतमा सक्रीय केही सामाजिक, राजनितिक संगठनका साथै समाजसेवीहरु सहयोगका लागि अगाडी आएका छन ।
लकडाउनका कारण कयौं नेपालीहरु भोकमरिले मर्नु भन्दा हिडेरै घर जान बाध्य भएभने सयौं नेपालीहरु अझै सीमा क्षेत्रमै शिविरहरुमा रहेका छन । लकडाउनपछि दिल्लीको आनन्द विहारमा फसेका करिब ५ सय जना नेपालीहरु नेपाल पुगेका छन । त्यस मध्ये बाँकी रहेका करिब ३ सय जना दिल्ली, फरीदाबाद, गाजियाबादका २४ शिविरहरुमा आश्रय लिइरहेका छन । उनिहरुलाई स्थानिय प्रशासन, प्रवासी संगठन र केही सम्पन्नशाली व्यक्तिको सहयोगमा खानापिनाको व्यवस्था भइरहेको छ । अहिले दिल्लीमा प्रवासी नेपाली एकता मञ्च भारतका आरबी खडका, हाम्रो स्वाभिमान, मानव कल्याण मित्र मञ्च एंव प्रवासी नेपाली मित्र मञ्च दिल्ली, व्यवसायी दिपक जीसी, लक्ष्मीनगरका सीए विद्यार्थीहरु लगायतले अप्ठ्यारोमा परेका नेपालीहरुलाई उनिहरुकै ठाँउमा पुगेर आवश्यक्ता अनुसार खाद्य सामग्री वितरण गरिरहेका छन ।
यद्धपी भोकभोकै मर्ने अवस्थामा पुगेका नेपालीहरुलाई विभिन्न नेपाली संगठन र व्यक्तिहरुले खाद्यान्न लगायतका दैनिक आवश्यकताका सामग्रीहरु उपलब्ध गराए पनि त्यतिले मात्र पुगेको छैन । अझै पनि दैनिक रुपमा ठूलो संख्यामा नेपालीहरुले सामाजिक संजालहरुमा आफुहरु अलपत्र परेको र खानाका लागि समस्या भएको भन्ने गुहार लगाइरहेका छन ।
अखिल भारत नेपाली एकता मञ्च भारतका आरबी खड्का र युवा नेता सन्दीप रानाको नेतृत्वमा सयौं नेपालीहरुको समस्या समाधानको प्रयास भइरहेको भएपनि हजारौं नेपालीहरुको स्थिति अझै दयनीय छ ।
त्यसैगरि बेङ्गलोर, शिमला र पंजाब लगायत देशका अन्य ठाँउमा लकडाउनपछि ठूलो संख्यामा अलपत्र परेका नेपालीहरुका लागि खाद्य सामग्रीको व्यवस्था गरिएको छ । तर समस्यामा परेका कतिपय नेपालीहरु सम्म भने अझै पुग्न नसकिएको खड्का बताउनुहुन्छ । दिल्लीमा मात्रै ४/५ सय जनालाई खानापिनाको समस्या भएको उहाँको भनाई छ ।
नेपालीहरु स्वाभामानी भएकाले अलपत्र परेकाहरु पनि बरु भोकै मर्न तयार छन तर लाईनमा बसेर माग्न संकोच मान्ने गरेका छन । त्यसैले भारतमा समस्यामा परेका नेपालीहरुले खानाभन्दा पनि नेपाल फर्किने विकल्पलाई प्राथमिकता दिने गरेका छन ।
अहिले लकडाउनको १२ दिन भइसकेको अवस्थामा ठूलो संख्यामा नेपालीहरु भोकमरी लगायतको समस्यामा परेको भएपनि २१ दिनसम्म पुग्दा नेपालीहरु झनै समस्यामा पर्ने अनुमान गरिएको छ । यो स्थितिको समाधानका लागि नेपाल सरकारले सोच्न सकेन भने ठूलो समस्या निम्तने छ ।