रौतहट, १७ चैत्र ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण यसवर्ष घर–घरमै चैते छठ मनाइँदै छ ।
चैते छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । लकडाउनको कारण यसवर्ष रौतहट मिथिलाञ्चलमा घर–घरबाटै अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ दिइएको छ ।
भोली मंगलबार बिहान उदाउँदो सूयलाई अर्घ दिएपछि चैती छठपर्व विधिवत समापन हुने छ ।
घर घरमै भाँडो पानी राखेर अथवा खानेपानीको श्रोत रहेको कल, इनार भएको स्थानमा पूजा सामग्री राखेर साँझको अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका हुन् ।

चैती छठ गौरको विभिन्न पोखरी किनारहरुमा विशेष रुपले सजाएर जलासयबाटै अर्घ दिने परम्परा रहेको छ । यसदिनमा विशेष चहलपहल हुने गर्दछ । तर यसवर्ष लकडाउनको कारण घर–घरमै छठ मनाउँदा कुनै चहलपहल देखिएको छैन ।

कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर, केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाइन्छ ।
