नवलपरासी १३ चैत । सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट, सुनवल, बासालगायत जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गरी सवारी चलाएको पाइएपछि मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी ले जनाएको छ ।
सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न जिल्ला प्रशासन ले निषेधाज्ञा जारी गरेको छ । बुधबार दोस्रो दिन निषेधाज्ञा अवज्ञा गरी प्रहरीलाई अवरोध पुर्याउन खोजेपछि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरुलाई सम्झाएर छाडिने उहाँले जानकारी दिनुभयो ।
लकडाउनको पहिलो दिन मंगलबार पनि जिल्लाका विभिन्न स्थानबाट २२ मोटरसाइकल, एक ट्रक र दुई टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको हो । तेस्रो दिन बिहीबार नवलपरासी सुनसान छ । सभार जनता समाचार